औपचारिक तथा अनौपचारिक रुपले सीप आर्जन गरेका प्राविधिक तथा व्यावसायिक क्षेत्रका विभिन्न सीपमूलक पेशा तथा व्यावसायमा कार्यरत व्यक्तिहरुका लागि आफ्नो सीपको परीक्षण गरी प्रमाणिकरण गर्ने अवसर आएकोे छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिले हरेक बर्ष झै यस बर्ष पनि मंसिर १२ गते नेपाल भरका ११२ वटा सीप परीक्षण केन्द्र मार्फत १०२ वटा पेशा तथा व्यावसायको सीप परीक्षणको लागि इच्छुक नेपाली नागरिकबाट दरखास्त आब्हन गरेको छ । सीप परीक्षणको लागि औपचारिक तथा अनौपचारिक रुपमा हासिल गरेका प्राविधिक सीपहरु तथा बैदेशिक रोजगारीबाट फर्केका यूवाहरुलाई लक्षित गरी ७ वटै प्रदेश अन्र्तगत ५५ वटा जिल्लाका ११२ वटा सीप परीक्षण केन्द्र कायम गरिएको छ । विभिन्न १०२ वटा पेशाको तह १ देखि तह ३ सम्म सीप परीक्षण गरिने छ । सीप परीक्षणमा सहभागि हुनका लागि नेपाली नागरिकताको प्रतिलिपी, २ प्रति फोटो र सम्बन्धित सीपको तालिम लिएको वा अनुभवको प्रमाण पत्र सम्लग्न गरी आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्रमा आवेदन फारम बुझाउनु पर्नेछ । तह १ का लागि सम्बन्धित पेशामा १ वर्षको कार्य अनुभव वा १६० घण्टाको तालीम लिएको हुनु पर्नेछ । तह २ को लागि ३ वर्षको कार्य अनुभव वा तह १ उत्तीर्ण गरी १ वर्षको अनुभव भएको वा १४०० घण्टा (६०० घण्टाको कक्षागत तालीम र ८०० घण्टाको कार्यगत तालीम) लिएको प्रमाण पेश गर्नु पर्दछ । त्यसैगरी तह ३ का लागि न्यूनतम ५ वर्षको कार्य अनुभव वा तह २ उत्तीर्ण गरी १ वर्षको अनुभव वा १ वर्षको तालीम लिई २ वर्षको अनुभव आवश्यक पर्दछ ।
राष्ट्रिय सीप परीक्षण समितिले बैदेशिक रोजगार प्रबद्धन बोर्डसँगको सहकार्यमा बैदेशिक रोजगारबाट फर्केका कामदारहरुको लागि २० वटा पेशा व्यावसायमा तह १ को निशुल्क सीप परीक्षण गर्ने भएको छ । ७ वटै प्रदेशको १९ जिल्ला स्थित परिषद्का शिक्षालय, तालीम केन्द्रहरु तथा बैदेशिक रोजगार प्रबद्धन बोर्डको सचिवालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्रमा सीप परीक्षणको आवेदन फाराम बुझाउने व्यवस्था गरिएको छ । सीप परीक्षणमा सहभागि हुन चाहने इच्छुक यूवाहरुले पासपोर्ट र विदेशमा काम गरेका आवश्यक कागजातहरु आवेदनका साथमा सम्लग्न गर्नु पर्नेछ । सीप परीक्षण सम्बन्धीे विस्तृत कार्य तालिका पछि प्रकाशित गरिने छ । कमाऊ, सिक र फर्क (Earn, Learn & Return) को सिद्धान्त बमोजिम वैदेशिक रोजगारीबाट फर्केका नेपाली यूवाहरुलाई मात्र लक्षित गरी विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार तथा रोजगार उन्मुख गर्न सीप परीक्षण गरी प्रमाणिकरण गर्ने कार्य अभियानको रुपमा नेपालमै पहिलो पटक शूरु गर्न लागिएको राष्ट्रिय सीप परीक्षण समितिले जनाएको छ । स्वदेशमै केही गरौ भनि घर फर्केका यूवाहरुले विदेशमा रहदा आर्जन गरेको सीप र व्यावसायिक दक्षताको परीक्षण गरी तह अनुसारको सीप प्रमाण पत्र प्राप्त गर्न र नेपाल सरकारले लागू गरेको विदेशबाट फर्केका यूवा परियोजना अन्तर्गतको रु. १० लाख सम्मको सहुलियतपूर्ण कर्जा सहज रुपमा प्राप्त गर्न समेत यस अभियानले सहयोग गर्ने विश्वास गरिएको छ । यस प्रकारको सीप परीक्षण कार्यक्रम आगामी बर्षहरुमा अझ व्यापक रुपमा विस्तार गर्ने योजना रहेको छ ।
राष्ट्रिय सीप परीक्षण समितिले सम्बन्धित पेशाको सीप परीक्षणका लागि तालीम प्राप्त ३ जना मूल्यांकनकर्ता (एसेसर) मार्फत सीप परीक्षण संचालन गर्दछ । सीप परीक्षणका लागि केही पेशाको सैद्धान्तिक र प्रयोगात्मक सीप परीक्षण हुने गर्दछ भने धेरै जसो पेशाको प्रयोगात्मक सीप परीक्षण र मौखिक अन्र्तवार्ता हुने गर्दछ । सीप परीक्षणमा सहभागि हुने परीक्षार्थीले सम्बन्धित पेशाको व्यावसायगत सीप प्रमाणिका (सीप परीक्षण मानक) मा उल्लेख गरिएका ज्ञान र सीपहरु प्रदर्शन गर्नु पर्ने हुन्छ । प्रमाणिकामा उल्लेखित सबै कार्यहरुको सफलतापूर्वक प्रदर्शन गरी स्तर कायम भएको परीक्षार्थीले मात्र सीपको प्रमाण पत्र प्राप्त गर्न सक्दछ । सैद्धान्तिक र प्रयोगात्मक दुबै परीक्षण हुने पेशाको लागि भने सैद्धान्तिकमा न्यूनतम ६० अंक ल्याउनु पर्ने हुन्छ । दुबै परीक्षामा स्तर कायम भएकोले मात्र प्रमाण पत्र पाउनेछन । एउटामा मात्र सफल भएका परीक्षार्थीहरुले असफल भएको विषयको मात्र सीप परीक्षण दिन पाईनेछ । यसको लागि २ वर्षको समय सीमा तोकिएको छ । सैद्धान्तिक परीक्षाको समय ३ घण्टाको हुनेछ भने प्रयोगात्मक सीप परीक्षणको समय सीप प्रमाणिकामा बमोजिम पेशा, व्यावसाय र तह अनुसार फरक फरक हुने गरेको पाइन्छ । सामान्यतया तह १ को सीप परीक्षण न्यूनतम ४ घण्टा र तह ३ को सीप परीक्षण २४ घण्टा (३ दिन) सम्म सञ्चालन हुनेछ । प्रयोगात्मक सीपको मूल्यांकनकर्ताको लागि समितिले मूल्यांकनकर्ता (एसेसर) तालीम संचालन गर्ने गर्दछ ।
वि. सं. २०३९ सालमा स्थापित राष्ट्रिय सीप परीक्षण समिति अन्तर्गत २४ वटा क्षेत्रका २९० वटा पेशा, व्यावासायको सीप प्रमाणिका तयार भई सम्बन्धित पेशा, व्यावसायको सीप परीक्षण हुदै आएको छ । सीप परीक्षण सञ्चालनको लागि समिति अन्तर्गत ५,९७७ जना तालीम प्राप्त मूल्यांकनकर्ता (एसेसर) रहेका छन् । हालसम्म समितिले विभिन्न पेशा, व्यावसाय अन्तर्गत विभिन्न तहको सीप परीक्षण सम्पन्न गरी करिब ३ लाख ३० हजारलाई सीप प्रमाण पत्र प्रदान गरिसकेको छ । समितिले नेपालको राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप (नेशनल भोकेसनल क्वालिफिकेसन फ्रेमवर्क ९ल्ख्त्तँ० को ढाँचा तयार गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको र सो स्वीकृतिको अन्तिम चरणमा रहेको र छिट्टै राष्ट्रिय व्यावसायिक योग्यता प्राधिकरण (NVQA) गठन हुने दिशातिर कार्य भैरहेको छ ।